
१७, जेठ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् ।
शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा सहभागी हुने उमेरको सीमा हटाएको थियो । त्यतिबेला कक्षा १२ को परीक्षामा सहभागी हुनाका लागि मात्रै १४ वर्ष पूरा भएको भए पुग्ने तर एसइईमा जति वर्षका विद्यार्थी पनि सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।
यद्यपि शिक्षा नियमावलीमा भएको व्यवस्थालाई मन्त्रीस्तरीय निर्णयबाट हटाउन निर्देशन दिएको भन्दै त्यतिबेला पनि चर्चा भएको थियो । तर अहिले मन्त्रालयले फेरि शिक्षा नियमावली अनुसार १४ बर्से प्रावधान एसइईमै लागु गर्न भन्दै बोर्डलाई निर्देशन दिएको छ । व्यवस्था कार्यान्वयन भएको अवस्थामा अब (२०८२ सालमा) सञ्चालन हुने एसइईमा सहभागी हुने विद्यार्थीको उमेर २०८२ चैत मसान्तसम्ममा १४ वर्ष पूरा हुनैपर्छ । अर्थात् २०६८ साल चैत मसान्तभित्र जन्मेका विद्यार्थी मात्रै अबको एसइईमा सहभागी हुन पाउने छन् ।
बोर्डले अहिले कक्षा १० को रजिस्ट्रेसन फाराम भराइरहेको छ । फाराम भर्ने समय जेठ मसान्तसम्म तोकिएको छ । तर फाराम भर्नेक्रममा थुप्रै विद्यार्थीले यो उमेर पार नगरेको देखिएको छ । उमेरको समस्या देखाउँदै हिजोआज बोर्डमा विद्यालय, विद्यार्थी तथा अभिभावकबाट दैनिक गुनासो आउने गरेको छ ।
