
२३,जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताए ।
गैरआवासीय नेपालीलाई नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकता दिइने लेखकले बताए । विभिन्न मन्त्रालयहरूमा राय, परामर्शहरूका लागि पनि विधेयक गइसकेको र सरकारले चाँडै मन्त्रीपरिषद्को सहमतिका साथ सदनमा लैजाने उनले बताए ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुङ्ग्याउन उनले आग्रह गरे । नागरिकता विधेयक टुङ्गिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरूको समस्या समाधान हुने बताए ।
