‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’-मन्त्री अधिकारी

२४, जेठ काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन् ।

एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकार रैथाने बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए ।

मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

“पहिले दुई छाक भात खान नपाउँदा गरिब भएको महसुस हुन्थ्यो, हाल दुई छाक भात खानुपरे पीडा महसुस हुन्छ, थोरै उत्पादन होस् तर रोग नलाग्ने विषादीरहित खाद्यवस्तु खान पाइयोस् भन्ने चेतना बढेको छ, यसमा रैथाने कृषि हाटबजार अभियानको पनि महत्त्वपूर्ण भूमिका छ”, उनले भने, “अब रैथाने बीउको संरक्षण र समयानुसार विकास गरी लाभ लिनुपर्ने आवश्यकता छ, त्यसका लागि स्थानीय तहले अझ बढी महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, व्यवसायीको भूमिका त्यत्तिकै महत्त्वपूर्ण छ ।”