
२७, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खोकना (प्रस्थान विन्दु) र बुङमतीका स्थानीयवासीसँग छलफल गरेका छन् ।
छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै द्रुतमार्गको प्रस्थान विन्दुमा उठेका विवाद र यसको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा जाने जानकारी गराएका हुन् । सो अवसरमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी थिए ।
द्रुतमार्ग निर्माण भई सञ्चालनमा आएपछि खोकनाको जातीय तथा सांस्कृतिक सम्पदा नष्ट हुने, खोकना गाउँ नै विस्थापित हुने भन्दै खोकनावासीले सो क्षेत्र भएर द्रुतमार्ग निर्माणको विरोध गर्दै आएका छन् तर खोकना क्षेत्रमा ‘एलाइन्मेन्ट’ नै परिवर्तन गरिएकाले द्रुतमार्ग निर्माणले खोकनाको सिकाली मन्दिरलगायतका सम्पदामा कुनै असर नगर्ने द्रुतमार्ग आयोजनाले जनाएको छ । द्रुतमार्गको कुल लम्बाइ ललितपुरको खोकना (प्रस्थान विन्दु) देखि बाराको निजगढसम्म ७० दशमलव ९७७ किलोमिटर छ ।
