मनसुन सक्रिय नहुदा देशभर गर्मी बढ्यो, अब कहिले पर्छ पानी ?

२७, जेठ काठमाडौं । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा मनसुन भित्रिएता पनि कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न सकिरहेको छैन । पानी नपर्दा देशभर गर्मी बढेको छ ।

मौसमविदहरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको जेठ १६ गतेदेखि आज जेठ २७ गतेसम्म (१२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु शक्तिशाली छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझैसम्म पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन । राम्रोसँग पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ ।

तर अब मनसुनी वायु कोशी प्रदेशभन्दा पश्चिमतिर अघि नबढ्दा चर्किएको घामबाट एकरदुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन् ।मौसमविदहरु अब मनसुन कहिलेखि सक्रिय हुन्छ भनेर एकिनका साथ भन्न सक्दैनन् । तर केही दिनपछि देशभर वर्षा हुने सम्भावना भने औंल्याएका छन् ।