
साउन २,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने र कोशी,वाग्मती,गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी,वाग्मती,गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा हुरीको सम्भावना छ ।
त्यसैगरी,आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी प्रदेश,मधेस प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यसर्थ सम्भावित वर्षाका कारण बाढी पहिरो तथा गेग्र्यान बहाव र डुबानको जोखिम रहेको बताउँदै महाशाखाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
