
सीता पौडेल
१९ भदौ,काठमाडौं । नेकपा एमालेले भाद्र २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले सो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।ललितपुरको गोदावरीस्थित सनराइज हलमा २२ गतेसम्म हुने उक्त विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३ सय १५ जना आयोजकका तर्फबाट गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार महाधिेशनमा ९ वटा समुह बनाएर विधानमाथी छलफल गरिने छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको विधान महाधिवेशनको भाद्र २० गते ११ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।
अधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन,उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । यस्तै विभिन्न आयोगका संयोजकहरुले पनि आफ्नो प्रतिवेदन पेश गर्ने तयारी छ ।
उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधन सम्बन्धी प्रस्तावमा ७० वर्षे उमेरहद नरहने,२ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
साथै एमालेले विधान महाधिवेशन प्रतिनिधिसँग कुनै शुल्क नउठाउने र सबै खर्च पार्टीले व्यहोर्ने जनाएको छ ।
महासचिव शंकर पोखरेलका अनुसार सो विधान महाधिवेशनमा सहभागि हुन आउने प्रतिनिधिहरूलाई खानाको व्यवस्था गरिने तर बास भने आफैँले मिलाउनुपर्ने छ ।
महासचिव पोखरेलले भने, ‘हाम्रो विगतमा शुल्क उठाउने परम्परा थियो, यस पटक हामीले नउठाउने निर्णय गरेका छौँ । पार्टी केन्द्रबाट खर्चको व्यवस्थापन हुन्छ। ’
