काठमाडौँमा र्‍याली,प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्विकृति नदिने निर्णय

२४ असोज,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्‍याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनामा यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय भएको उल्लेख गरेको छ ।

गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको जनाएको छ।

सूचनामा भनिएको छ,’विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली,जुलुस,धर्ना,सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’

पूर्व स्वीकृतिविना कुनै पनि प्रकारका र्‍याली, सभा वा प्रदर्शन नगर्न र नगराउन पनि जारी सूचना मार्फत प्रशासनले सबैलाई सचेत गराएको छ ।