
१ फागुन,काठमाडौं ।बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा निर्वाचन भएकोमा २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको ढाका ट्रिब्युनले जनाएको छ ।अध्यक्ष रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् ।
जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ ।
करीब दुई दशकदेखि सत्ताबाहिर उक्त पार्टी सत्ता बाहिर थियो ।
बिहीबार मतदानपछि बीएनपी अध्यक्ष तारिक रहमानले आफू निर्वाचित भएमा देशको कानून–व्यवस्था सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए ।बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भने यस निर्वाचनलाई फर्जी र असंवैधानिक भएको जिकिर गरेकी छिन् ।
अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।
विद्यार्थी विद्रोहपछि बंगलादेशमा भएको यो पहिलो राष्ट्रिय चुनाव हो । हिंसात्मक आन्दोलन थेग्न नसकेपछि देश छाडेर भारत गएकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त पार्टीले भने चुनावमा भाग लिन पाएन ।
