
२८ वैशाख,तनहुँ ।देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान,संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ ।
पालिकाको पहिचान,संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले आधारभूत तह (कक्षा १–५ र ६–८० का लागि
‘ हाम्रो देवघाट’ नामक पाठ्यक्रम चालु शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको पालिकाले जनाएको छ ।
उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ ।पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व,स्थानीय पर्यटकीय स्थल,जनजीवन,वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।
गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवन उपयोगी बनाउन र देवघाटको पहिचान उजागर गर्नुका साथै संरक्षण र प्रबद्र्धन गर्न पाठ्यक्रमले महत्वत्वपूर्ण भूमिक खेल्ने बताए।
उनले भने, “स्थानीय आवश्यकता र विशेषतालाई समेटेर पाठ्यक्रम तयार गरिएको छ ।जसले विद्यार्थीलाई अपनत्व अनुभूूत गर्न प्रेरित गर्नेछ ।”
देवघाट गाउँपालिका कला र संस्कृतिले भरिपूर्ण, विभिन्न धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरु भएको महत्वपूर्ण र धार्मिक दृष्टिकोणबाट बढी चर्चित पालिका हो । यहाँ समुदायहरुमा विशेष गरि देउडा, सेलो, र झ्याउरे जस्ता गीतसंगितहरु गुन्जीने गर्दछन् ।
१५९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस पालिका प्राकृतिक सुन्दरतालेसमेत भरिपूर्ण पालिकाको रुपमा परिचित छ ।
