
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो ।
वातावरण संरक्षण,जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि आजको आवश्यकता रहेको छ ।
विश्व वातावरण दिवसका अवसरमा विभिन्न संस्थाहरुले आज शुक्रबार वृक्षारोपणसहित देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै छन् ।
स्विडेनको स्टकहोममा पहिलो पटक सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो ।
वातावरण संरक्षणका लागि विश्वका देशहरू एकै ठाउँमा उभिएको त्यो पहिलो ठूलो ऐतिहासिक पाइला थियो ।त्यही सम्मेलनको सम्झना र महत्त्वलाई कदर गर्दै संयुक्त राष्ट्रसंघले जुन ५ लाई ‘विश्व वातावरण दिवस’ को रूपमा मनाउने घोषणा गरेको थियो ।
त्यसको अर्को वर्ष,अर्थात् ५ जुन १९७३ मा पहिलो पटक आधिकारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा विश्व वातावरण दिवस औपचारिक र संस्थागत रूपमा सन् १९८० र १९९० को दशक (वि.सं. २०३७–२०४७ तिर) देखि व्यापक रूपमा मनाउन थालिएको हो।
