
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागेका छन् ।
उनले सिंहदरबारमा सर्वदलीय बैठक राखेर यसबारे सुझाव माग गरेका हुन् ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि रास्वपाको नेतृत्वमा एकल बहुमतको सरकार बनेको छ । दुई सिट कम दुई तिहाइ बहुमतको एकल सरकारको नेतृत्व रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।
निर्वाचनमा पाएको मत अनुसार सरकार बनाएको रास्वपाले निर्वाचनपछि पहिलो पटक दलहरूसँग औपचारिक रूपमा संवाद राखेको हो ।
सर्वदलीय बैठक नै राखेर रास्वपा सभापति लामिछानेले सरकारको कामकारबाहीबारे सुझाव माग गरेका हुन् ।
सर्वदलीय बैठक बस्ने अभ्यास सुरुवात भएको र यसले निरन्तरता पाउनुपर्ने आग्रह गरे ।
लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए ।भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।
भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेका हुन् ।
अहिलेको सरकारको कामकारबाहीको सन्दर्भमा आफूहरूले केही सुझावहरू समेत लिएको लिङ्देनले जानकारी दिए ।
लिङ्देनका अनुसार उनले संसद्मा प्रतिपक्षी कमजोर रहेको र सरकारले आफूहरू विकल्पविहीन छौं भनेर शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नगरोस् भनेर सुझाएका छन् ।
देश जित्नेको मात्रै नभएर हार्नेको समेत भएको उल्लेख गर्दै परिपक्क व्यवहार गर्न सुझाए । वैदेशिक सम्बन्धको सवालमा अपरिपक्क व्यवहार नदेखाउन आग्रह गरे ।
सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्ति र रास्वपा सभापति लामिछानेले भारतमा गएर विगतको भारी बोक्दैनौं भनेर दिएको अभिव्यक्ति उचित नरहेको भनेर खबरदारी गरे ।
