जिल्ला प्रशासन काठमाडौं भन्छ- विश्वकप हेर्न बिना अनुमति भिड जम्मा नगर्नु

२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा समाजको शान्ति सुरक्षा खलबलिने गरि भीड जम्मा नगर्न अनुरोध गरेको हो ।

‘फिफा विश्वकप फुटबलका खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रशारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न र नगराउन सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ।

खेलको प्रत्यक्ष प्रशारण गर्ने स्वीकृतिका लागि निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा समावेश गरिएको पनि सूचनामा उल्लेख छ ।

‘उक्त निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही यस्तो संघसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति लिइनेछ,’ सूचनामा भनिएको छ ।