मौसम पूर्वानुमान : देशका विभिन्न भागमा वर्षाको सम्भावना

२९ जेठ, काठमाडौंजल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी,मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

 कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

उता आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।साथै मधेश प्रदेश,बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको भनाइ छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले मौसम परिवर्तन भइरहको छ ।