
२९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा सम्बन्धमा हाइप्रोफाइल व्यक्तिहरुलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), पूर्वमन्त्री आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बयानका लागि झिकाउनुपर्ने माग गरी तीन जना उजुरीकर्ताहरुले जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन् ।
जाहेरीकर्ताहरुले उनीहरु बाहेक पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, पूर्वमन्त्री थापाकी पत्नी नैनकला थापा,पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य,पूर्वसांसद अजय क्रान्ति शाक्य र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई समेत अदालतको बयानमा झिकाउन माग गरेका छन् ।
उनीहरुले निवेदनमार्फत अदालतमा माग गरेका छन्, ‘उनीहरुले यस मुद्दाका प्रतिवादीहरुबाट रकम बुझी लिईएको प्रमाणित हुने विभिन्न डिभाईसहरु यस अगाडि नै सम्मानित अदालतमा बुझाइसकेको सम्बन्धमा निजहरुलाई नै अदालतमा उपस्थित गराई निजहरुको बयान बकपत्र मार्फत कानून बमोजिम प्रमाण मूल्यांकन गरी पाउँ।’
उनीहरुले पेश गरेको निवेदन बिहीबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ ।उनीहरुले आरोपितको सम्पत्ति समेत रोक्का राख्न माग गरेका छन्।माग गरेको निवेदन सम्बोधन भएमा अदालतले पूर्वप्रधानमन्त्री ओलीदेखि पूर्वमेयर शाक्यसम्मलाई बकपत्रका लागि झिकाउन सक्छ ।
हाल नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुविरुद्ध चलेको किर्ते,राज्यविरुद्धको कसुर,ठगी र संगठीत अपराधको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।
