बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

६ असोज,काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज,उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श गरेको छ।

सशस्त्र प्रहरी बलको मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा असोज ४ गते उद्धारकर्तासहित बाढी प्रभावित स्थानीय,कारागारमा रहेका कैदीबन्दी तथा होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई परामर्श दिइएको हो।

मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु विक्रम शाहसहितको टोलीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुगेर मनोसामाजिक आवश्यकता पहिचान तथा परामर्श प्रदान गरेको थियो।

भदौ १० गतेदेखि रसुवाको धुन्चे,टिमुरे,स्याफ्रुबेँसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली बजार, ढुंगेबजारलगायत क्षेत्रमा सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिँदै आएका छन्।

कठिन भूगोल,  निरन्तरको खटाइ तथा बाढीमा आफन्त गुमाएका सुरक्षाकर्मीमा समेत मानसिक तनाव देखिएको हुनाले सो परामर्श आवश्यक परेको आयोजकको भनाइ छ ।

बाढी प्रभावितका लागि पनि यस प्रकारको परामर्श तथा विशेषज्ञ सेवा पुर्‍याउनुपर्ने आवश्यकता सशस्त्र प्रहरीले बलले औंल्याएको छ ।