
२० असोज,काठमाडौं ।नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति,परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ।
नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ राख्न लागेको हो ।
बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका,चाँगुनारायण नगरपालिका,भक्तपुर पर्यटन विकास समिति,ठमेल पर्यटन विकास समिति,हिमालयन उद्धार सङ्घ,टान,होटल सङ्घ नेपाल,होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको छ ।
विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी दसैँको अवधिभर सञ्चालन गरिने सम्झौतामा उल्लेख छ।विशेषगरी पर्यटकको आवागमन हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने भएको छ ।
नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा विभिन्न संस्थाबिच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा,भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने छ।
दसैँको कार्यक्रम सम्पन्न भएपछि पिङ हटाई निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ ।
यसबाट नेपालीहरूको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन हुने विश्वास लिइएको छ ।
