सहज रूपमा ग्यास आपूर्ति सुरु भएको ग्यास उद्योग संघको दाबी

२७ असोज,काठमाडौं।नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौं उपत्यकामा एलपी ग्यासको वितरण प्रणालीलाई पुनः नियमित बनाइएको दाबी गरेको छ।

सङ्घद्धारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उपत्यकामा सहज रूपमा ग्यास वितरण भएको दाबी गरेको हो।

सङ्घले आफ्नो नजिकको आधिकारिक डिलरमा गएर नियमित रूपमा ग्यास खरिद गर्न आम उपभोक्ता तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

यसअघि उपभोक्ताको सहजताका लागि भन्दै असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्मका लागि विभिन्न ब्राण्डका ग्यास सिलिण्डरहरू संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले उल्लेख गरेको छ ।

यद्यपि,बिहीबार र शुक्रबार डिलरमार्फत नियमित ग्यास आपूर्ति गर्नुपर्ने भएकाले उक्त संयुक्त व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र लागू हुने सङ्घले जनाएको छ।तर उपभोक्ताहरूले भने अझै पनि ग्यास नपाएर खाना पकाउनै समस्या भइरहेको बताउँदै आएका छन् ।