
२८ असोज,काठमाडौं ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
गत आवमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत भएको आईएमएफको तथ्यांक छ।आईएमएफले मंगलबार सार्वजनिक गरेको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले उक्त प्रक्षेपण गरेको हो।
नेपाल सरकारले चालु आव ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । तर आईएमएफ मात्रै होइन, केही दिनअघि विश्व बैंकले पनि ३.७ प्रतिशत नै आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
१० भदौमा आएको रसुवा बाढीका कारण चालु आवको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले अनुमान गरेको थियो।विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट’ का अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने भएकाले २०८४–८५ मा ५.२ प्रतिशत उक्लिन सक्नेछ।
आईएमएफले चालु आव २०२७ मा मूल्यवृद्धि भने ५.८ प्रतिशत हुने अनुमान गरेको छ । गत आव २०२६ मा मूल्यवृद्धि दर ३.१ प्रतिशत मात्रै भएको आईएमएफ प्रक्षेपण छ ।नेपाल राष्ट्र बैंकले पनि गत आव ३.०८ प्रतिशत मूल्यवृद्धि भएको जनाएको छ।
२०२६ मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण
आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुकले पश्चिम एसियाको युद्ध र व्यापारिक तनावबीच विश्व अर्थतन्त्र उत्थानशील देखिएको विश्लेषण गरेको छ।यद्यपि,उच्च ऋण र इन्धन मूल्यवृद्धिका कारण विश्वमा जोखिम कायमै रहेको पनि प्रतिवेदनले जनाएको छ।
२०२६ को पहिलो अर्धवार्षिक अवधिमा विश्वव्यापी आर्थिक गतिविधि अपेक्षाभन्दा राम्रो रहेको प्रतिवेदनले जनाएको छ ।
२०२६ मा विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने अनुमान आईएमएफको छ ।त्यस्तै २०२७ मा विश्व आर्थिक वृद्धिदर बढेर ३.४ प्रतिशत पुग्ने प्रक्षेपण पनि आईएमएफको छ ।
आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा भएको उच्च लगानी र प्रविधि चक्रले विश्वव्यापी मागलाई बढावा दिएको प्रतिवेदनले उल्लेख गरेको छ ।
‘तर,भूराजनीतिक तनाव र प्रविधिको संयुक्त प्रभावले विश्व अर्थतन्त्रलाई स्पष्ट दुई भागमा विभाजन गरेको छ,प्रविधि निर्यात गर्ने तथा अनुकूल व्यापार अवस्था भएका देशहरूले राहत पाइरहेका छन् भने ऊर्जा आयातमा निर्भर देशहरूले उच्च आयात खर्च र कमजोर मागको दबाब झेलिरहेका छन्,’ प्रतिवेदनमा छ ।
‘धेरैजसो न्यून आय भएका र जोखिममा रहेका देशहरू यही समूहमा पर्ने भएकाले उनीहरूबीच र देश भित्रै आयको असमानता अझ फराकिलो हुने खतरा छ,’ आईएमएफको भनाइ छ ।
