सीता पौडेल(अर्चना)
गुल्मी।गुल्मीको छत्रकोट गाउँपालिका,४ मा एकदिने उखु महोत्सव गरिएको छ ।
उखुको उत्पादन बढाउने र उखु व्यवसायको विकास र प्रवद्र्धन गरि उखु किसानलाई प्रोत्साहित गर्न पालिकाको वडा नम्बर ४ को दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
उखु खेतीका माध्यमबाट आर्थिक उपार्जन गरी समृद्धि हासिल गर्दै किसानलाई आत्मनिर्भर बनाउनका लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलेले बताउनु भएको छ ।
महोत्सवमा गोरुको प्रयोग गरी पराम्परागत शैलीमा उखु पेल्ने, खुदो, गुँड बनाउने र उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो ।भने,उखु महत्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।
स्थानीय जातको सेतो, रातो कोसेर, कालो र जीतपुर कोसेर तथा पुरानो जातका उखुको समावेस गरि पहिलो पटक प्रदर्शन गरिएको सो महोत्सवबाट उखु किसान थप उत्साहित बनेको भन्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने महोत्सव संयोजक रामकृष्ण न्यौपानेले बताउनुभएको छ।
केन्द्रका प्रमुख भण्डारीका अनुसार पालिकामा मात्र तीन सय किसानहरुले व्यावसायिक उखु खेती गर्नुभएको छ ।त्यस्तै जिल्लाको खेतीयोग्य जमिनमध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा उखु खेती गरिएको छ ।
यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ उत्पादन भएको छ । जिल्लामा यस वर्ष करिब पाँच करोड ४५ लाख बराबरको उखुजन्य पदार्थ उत्पादन भएको उहाँले जानकारी दिनुभएको छ ।
