प्रेस स्वतन्त्रताको ठाडो उलङ्घन भयो : प्रेस चौतारी

काठमाडौं।नेकपा एमाले निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले सिधा कुरा डटकम अनलाइन र युट्युब च्यानलको ’द डार्क फाइल’ शृङ्खला अन्तर्गत प्रकाशित सामग्रीका सन्दर्भमा सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

चौतारीले मंगलकार विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १९ अन्तर्गत सूचनाको हकमा विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार,सम्पादकीय,लेख,रचना वा अन्य कुनै पाठ्य,श्रव्य, श्रव्यदृष्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध नलगाइने अधिकार सुनिश्चत गरेको अवगत गराउँदै अदालतले सोमबार गरेको आदेशप्रति आपत्ति जनाएको हो।

उप-महासचिव शुरोजंग पाण्डेद्धारा जारी विज्ञप्तीमा अदालतको उक्त आदेशले संविधानप्रद्धत्त मौलिक अधिकारका रुपमा स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको चौतारीको ठहर भएको उल्लेख गरेको छ।

सर्वोच्च अदालतले अपहेलनासम्बन्धी मुद्दामा निवेदनको निरूपण नभएसम्म उक्त अनलाइन न्युज पोर्टललाई कार्यक्रम उत्पादन,प्रसारण,पुनः प्रसारणलगायत सार्वजनिक गर्न नपाउने गरी दिएको आदेशले लोकतन्त्र,मानव अधिकार र प्रेस स्वतन्त्रताका पक्षधरलाई चिन्तित बनाएको भन्दै उत्तल आदेश फिर्ता लिई संविधानप्रद्धत्त मौलिक अधिकारको सम्मान गर्न पनि चौतारीले अदालतको ध्यानाकर्षण समेत गराएको छ।

साथै चौतारीले अदालतले सो आदेश फिर्ता नलिए प्रेस स्वतन्त्रताको रक्षाका लागि जुन सुकै मुल्य चुकाउन  पछि नपर्ने चेतावनीसमेत दिएको छ ।