
मनिषा गुरूङ
काठमाडौं ।आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ।
एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता,वीरता र गौरवपूर्ण इतिहास बोकेको छ।प्रत्येक वर्ष मे १ तारिखमामा मनाइने यो दिवस श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक,अधिकार स्थापित भएको दिनको रूपमा मनाइन्छ।‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’भन्ने नाराकासाथ १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागिएको हो।
सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।श्रम सम्बन्धलाई व्यवस्थित गर्न यो दिवसले श्रमिकहरुको लागि खास अर्थ राख्दछ।
सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएपछि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गरिएको थियो।यद्यपी सो बम कसले विष्फोट गराएको थियो भन्ने एकिन भने कसैले गर्न सकेका थिएनन्।सो समय प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भएको थियो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो।त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो।
नेपालमा वि.सं २००७ मा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो।२०४६ सालको राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक,सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ।
श्रमिक अधिकारका विषय संविधानप्रद्धत्त अधिकार भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।संविधानले रोजगारीको हकको प्रत्याभूति गरेको छ ।तर पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक न्यूनतम परिश्रमिकबाट वञ्चित छन्।अझै पनि कामको अभावमा युवा शक्ति विदेशिएको विदेशियै छन्।
मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्काउने सरकार र सरोकारवालाका नारा नारा र घोषणापत्रका ‘सेतो पानाका काला अक्षर’ मात्र भएका छन्।
सरोकारवाला संघसंगठनले व्यवस्था मिलाउन सरकारसँग माग गरेपनि सरकार कानमा तेलहालेर सुतिरहेको छ । न त श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता छ,न सामाजिक सुरक्षाको हक र रोजगारीको हकको सुनिश्चिता नै ! अझै पनि श्रमिकहरु खुशी हुने अवश्था छैन।
यसर्थ आर्थिक समृद्धि सहितको विकसित,सभ्य र सुन्दर नेपालको निर्माण गर्ने हो भने श्रम र श्रमिकको सम्मान गर्नु जरुरी छ ।यसका लागि सरकार,रोजगारदाता र सरोकारवाला पक्षहरुले गम्भिर भएर सोच्नु जरुरी छ।श्रमिकको रोजगारीको हक र पारिश्रमिकको हकको व्यवहारगत रुपमै सुश्निचितता हुनु जरुरी छ।
