नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलका अनुसार उनीहरुलाई पक्राउ अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेको प्रहरीको भनाई छ।

सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको प्हरीले बताएको छ ।चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ ।

ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको र ५÷६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएको प्रहरीले बताएको छ ।दुई जना पक्राउ परे पनि रकम भने प्रहरीले थोरै मात्रामा बरामद गरेको छ । बाँकी रकम भारत पुर्‍याइसकेको आशंका प्रहरीले गरेको छ ।