सन्दीपको मुद्दासँग मुछेर मेरो चरित्रहत्या गर्ने दुष्प्रयास भइरहेको छ : पारस खड्का

काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सन्दीप लामिछानेको मुद्दासम्बन्धमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने दुष्प्रयास गरिएकोमा आपत्ति जनाएका छन्।

बुधवार आफ्नो फेसबुक वालमा लेखेका छन्, सचिव पारसले ‘पछिल्लो केही समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’उनले आफूमाथि भइरहेको नियोजित षड्यन्त्रविरुद्ध ढिलो चाँडो कानुनी कारबाहीमा जाने पनि उल्लेख गरेका छन्।

‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ’,उनले भनेका छन्,‘यो सबैका बीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।’

साथै उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा फेरबदल नहुनेसमेत उल्लेख गरेका छन् ।