सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै,कहाँ र कहिले ?कसरी लिने जानकारी?

सीता पौडेल( अर्चना) 
काठमाडौं । नेपालका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको हो।

मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन मार्फत मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले  यस मेलालाई विस्तारै जिल्ला,स्थानीय र वडा तहसम्मै सञ्चालन गरिने बताए।

मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति,रोजगारदाता,तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिइने उनको भनाई छ।मेलाबारे थप जानकारी दिंदै उनले भने, ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने,अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन्।साथै रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउनेछन्।’

मन्त्री अर्यालले यस्तो मेला गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए।हरेक प्रदेशमा आयोजना हुने दुईदिने सो मेला आगामी जेठ १७ देखि ३० गतेसम्म सञ्चालन हुँदैछ ।

मेलामा श्रमाधान योजना,सामाजिक सुरक्षा कोष,वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागिता रहने बताइएको छ।साथै सबै तहका श्रमिक र रोजगारदाताको आवश्यकताको विषयमा छलफल हुने उनले जानकारी दिएका छन्।

उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल च्याम्बर अफ कमर्स,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ,होटल व्यवसायी महासंघको पनि मेला स्टल राख्ने भएका छन्।साथै सामी परियोजना,रेमी योजनाले पनि आफ्ना स्टल राख्दैछन्।

कुन प्रदेशमा कहिले र कहाँ ?

) कोशी प्रदेश — विराटनगर ,महेन्द्र मोरगं बहुमुखी क्याम्पस – जेठ १७ र १८ गते
२) मधेस प्रदेश — वीरगन्ज– जेठ १९ र २० गते
३) गण्डकी प्रदेश – पोखरा– जेठ २१ र २२ गते
४) लुम्बिनी प्रदेश— बुटवल– २३ र २४
५) कर्णाली प्रदेश — वीरेन्द्रनगर सुर्खेत– जेठ २५ र २६
६) सुदूरपश्चिम प्रदेश—धनगढी– जेठ २७ र २८ गते र
७) बाग्मती प्रदेश —ललितपुर – जेठ २९ र ३० गते सञ्चालन हुँदैछन् ।

साथै मन्त्री अर्यालले यस मेलामा सहभागिता जनाउनका लागि मंगलबारदेखि नै दर्ता खुला गरिएकोले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने बारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

नेपालको रोजगारीको अवश्था र यसका आवश्यकतालाई सम्बोधन गर्ने रणनीतिका साथ सञ्चालन हुन लागेको यस मेलाबाट रोजगार खोज्नेहरू र रोजगारदाताहरूबीच मध्यस्थताको काम गर्ने,श्रमाधान अवधारणाको जानकारी हुने,सिप सिकाइलाई प्रवद्र्धन गर्ने र उद्यमशीलतालाई थप प्रोत्साहन गर्ने आशा राखिएको छ।