गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

काठमाडौं ।नेपाली कांग्रेस​ले गण्डकीमा आज शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ।

बजेटका सन्दर्भमा छलफल गर्नका लागि दिउँसो ३ बजेका लागि बोलाइएको उक्त बैठकको कांग्रेसले बहिस्कार गर्ने निर्णय गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । त्यसको टुंगो नलागेसम्म कांग्रेस आजको संसद बैठकमा सहभागी नहुने भएको छ ।

प्रमुख सचेतक न्यौपानेद्धारा जारी विज्ञप्तिमा अदालतको आदेश विपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने उल्लेख छ।

गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ।जसमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

गण्डकीमा ६० प्रदेशसभा सदस्य छन् ।