चुरे संरक्षण अभियान्ताले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्ने

काठमाडौं । आफूहरुको माग सुनुवाई नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियान्ताले आज राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने भएका छन् ।

मधेशका विभिन्न जिल्लाबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आइपुगेका २३ जना अभियान्ताहरुले चुरे पहाड दोहन, उत्खनन् र वन जंगल फडानीका कारण आफूहरु समस्यामा परेको र आफूहरुले उठाउँदै आएको माग पुरा नभएको भन्दै सो कार्यालय घेराउ गर्न लागेका हुन् ।

उनीहरु विगत ३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहे पनि हालसम्म उनीहरुको माग सम्बोधन हुन सकेको छैन । उनीहरु गत बिहीबार काठमाडौं आइपुगेका थिए । टोलीले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालयबाट हालसम्मको प्रगति विवरणसमेत माग गर्ने एक अभियान्ताले बताए ।

समितिको कार्यालयमा ज्ञापनपत्र बुझाइसकेपछि आजै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा पनि ज्ञापनपत्र बुझाउने उनीहरुको कार्यक्रम छ ।