गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र हो : एमाले अध्यक्ष ओली

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र भएको बताएका छन्।

१७ औं गणतन्त्र दिवसका अवसरमा मंगलवार शुभकामना सन्देश दिँदै उनले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा यो दिवस मनाइने स्पष्ट पारेका हुन्। 

अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्,‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ।कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ,तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन।’

‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ ।जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफै गलत छ।हामीले अधिकार पाएका छौँ।सँगसँगै कर्तव्य पनि नभुलौँ।’उनले भनेका छन्।