चालु आर्थिक वर्षमा पर्साबाट सबैभन्दा बढी बालबालिका बेपत्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९–०८० मा पर्साबाट सबैभन्दा बढी बालबालिका हराएको पाइएको छ । सो अवधिमा जम्मा १६३ जना बालबालिकाहरु हराएको पाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

बालबालिकाहरु हराएको उजुरी परेपनि प्रायः बालबालिकाहरु फेला नपर्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । चालु वर्षको तथ्यांक अनुसार सबैभन्दा बढी बालबालिकाहरु तराईका जिल्लाबाट हराउने गरेको पाइएको छ । बाराबाट १४०, रौतहटबाट ९९, सर्लाहीबाट १६३ जना बालबालिका बेपत्ता भएको प्रहरी तथ्याङ्क छ ।

यसै गरी महोत्तरीबाट ९२, धनुषाबाट १७०, सिराहाबाट १६८ र सप्तरीबाट ८९ जना बालबालिकाहरू हराएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जानकारी दिए । उनका अनुसार हराउनेहरूमा बालिकाको सङ्ख्या धेरै देखिएको छ, जुन गम्भीर चिन्ताको विषय हो । बालिकाहरू बढी हराउनु राम्रो सङ्केत नभएको उनी बताउँछन् ।

प्रदेशभरिबाट हराउने कूल बालबालिकाहरूमध्ये ९० प्रतिशत बालिका रहेको प्रहरीको तथ्याङ्क छ । यो १० महिनाको अवधिमा प्रदेशबाट हराएका बालबालिकाहरूमध्ये ९१२ जना बालिका छन् ।

बालिका बेपत्ता हुने विवरण जिल्ला गत रूपमा हेर्ने हो भने पर्साबाट १३३, बाराबाट १२०, रौतहटबाट ८५, सर्लाहीबाट १४०, महोत्तरीबाट ८२, धनुषाबाट १४५, सिराहाबाट १४२ र सप्तरीबाट ६५ बालिका हराएको उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

यद्यपि, दश महिनामा हराएका कूल बालबालिकामध्ये प्रहरीले ६ सयभन्दा बढीको उद्धार पनि गरेको छ । आठवटै जिल्लाबाट हराउने बालबालिकाहरूमध्ये ६ सय ७० जना बालबालिकाको उद्धार भएको मधेस प्रदेश प्रहरीको तथ्याङ्क छ । यसलाई आधार मानेर हेर्ने हो भने प्रदेशबाट ४१४ जना बालिबालिका अझ बेपत्ता छन् ।

प्रदेश प्रहरी प्रवक्ता बोहराले बालबालिकाहरू बेपत्ता हुँदा आफन्तले प्रहरीमा उजुरी दिने तर उनीहरू फेला पर्दा प्रहरीलाई जानकारी नदिँदा पनि हराउनेहरूको सङ्ख्या बढी देखिएको तर्क गर्छन् ।