काठमाडौं । अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । महानगरले एक सुचना जारी गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था मिलाएको बताएको हो ।
पहिले महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएसँगै शुल्क हटाउन लागिएको बताइएको छ ।
सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।
सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले बताएको छ ।
