काठमाडौं । काठमाडौं महानगरपालिकाले सुख्खा फोहोर विक्रीका लागि दोस्रो पटक टेन्डरको आह्वान गरेको छ ।
महानगरले बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको सुख्खा फोहोर बिक्रीका लागि पुनः बोलपत्र आह्वान गरेको हो। हाल काठमाडौंसहित २१ वटा नगरपालिकाले धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ को कुँडुले बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रमा फोहोर विसर्जन गर्दै आएका छन्।
त्यहाँ जैविक र सुख्खा फोहोर एकै ठाउँमा बिसर्जन हुँदै आएको छ। बञ्चरेडाँडा पुगेको फोहोर वर्गीकरण गरी बिक्रीका लागि महानगरले बोलपत्र आह्वान गरेको छ। काठमाडौं महानगरले २२ करोड ४८ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको हो।
बञ्चरेडाँडा ल्यान्डफिल साइट भित्रको फोहोर पुनः प्रयोग, पुन चक्रिय प्रयोग गर्न इच्छुक व्यक्ति, संघ—संस्थाले जेठ ५ गतेभित्र प्रस्ताव पेश गर्न सक्ने महानगरले जनाएको छ।
महानगरले यसअघि पनि टेन्डर आह्वान गरेपनि प्रस्ताव नपरेपछि पुनः बोलपत्र आह्वान गरेको हो ।
