राष्ट्रसङ्घीय कमिटी सिडको सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय समिति ‘महिलाविरुद्धको विभेद उन्मूलन कमिटी’ (सिड( को सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित भएकी छन्।

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले नयाँ समतिको तीन वर्षे कार्यकालमा रहेर आगामी सन् २०२५ देखि सन् २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि सो समितिमा नेपालको तर्फबाट विजयी भएपछि निर्वाचित राणाले सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिएकि छन् ।

साथै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले पनि सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिएका छन्।

जेनेभामा केन्द्रिय कार्यालय रहेको उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या,राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ ।

सो समितिमा २३ सदस्य रहने व्यवस्था छ।