
ललितपुर । मूर्तिकार तथा क्रोधकला शिरोमणि कालु कुमाले सम्मानीत भएका छन् ।
हार्ट क्लब नेपाल तथा नेपाल हार्ट फाउण्डेसन र हार्ट टु हार्ट सेन्टर नेपाल ललितपुरको आयोजनामा शुक्रबार उहाँलाई सो क्षेत्रमा गर्नुभएको योगदान स्वरुप आफ्नै नीजि निवासमा सम्मान गरिएको हो ।
कार्यक्रममा क्लब ललितपुरका महासचिव मोहन नाथ मास्केले राष्ट्रका मुर्धन्य व्यक्तित्व कुमालेलाई सम्मानीत गर्न पाउँदा आफूहरु पनि गौरवान्वित भएको भनाइ राखे ।
यसैगरी हार्ट क्लब ललितपुरका अध्यक्ष विपिन राईले जीवित चम्कीला तारा कुमाले नेपालमा मात्रै नभएर विदेशका विभिन्न देशमा समेत प्रख्यात भएका बताउँदै सो तवरका व्यक्तिका लागि प्रतिष्ठान खडा गर्नुपर्ने र क्रोधकलाको विषयमा पाठ्यक्रममा समेत समावेश गर्नुपर्ने विचार व्यक्त गरे ।
हार्ट फाउण्डेसनका सभापति बालकृष्ण तुलाधरले कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्व भएको प्रशंसा गर्दै उहाँको सम्मान गर्नु आफूहरुको ठूलो भाग्य भएको मत राखे ।
हार्ट टु हार्टका सचिव स्यामकुमार श्रेष्ठले उग्रभावको मूर्ति सिर्जना गर्न सक्नु कुमालेमा विशिष्ट प्रतिभा रहेको चर्चा गरे ।
राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई अर्थात ब्याकुल माईलाले कुमालेलाई सो आधुनिक युगको जीवित अरनिको भनी प्रशंसा गर्दै देशको कला क्षेत्रमा योगदान गर्ने अतुलनिय व्यक्तिलाई सम्मान गरिनु आफूनै सम्मानीत भएको महसुस भएको जिकिर गरे ।
क्रोधकला शिरोमणि फाउण्डेशनका अध्यक्ष राकेश अवालेले आफ्ना बाबु कुमालेलाई आफूहरुले मात्र एक कला गुरुको रुपमा चिन्ने मौका पाएको बताउँदै उहाँको काममा व्यस्तताको बाबजुद बाबुको रुपमा चिन्न अझै बाँकी रहेको विचार व्यक्त गरे ।
उक्त अवसरमा सम्मानीत व्यक्तित्व कुमालेले कार्यक्रममा उपस्थित ‘सबैको जय होस’ भन्ने भनाइ राखे ।
