डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलियो

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ ।

उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको जानकारी दिए । मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।

सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेङ्गु देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । उनले पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए ।