संसदमा गीतबाट सवाल–जवाफ

काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ ।

एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरूलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा‘१’ सोही प्रसङ्ग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभाको सोमबारको बैठकमा जवाफी गीत सुनाए ।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बिचको नाता हुनुपर्ने के रह्यो र ‘१’ गीत सुनाए ।

प्रतिनिधिसभाको आइतबार र सोमबार भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्‍यो मायाले‘सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा आफूत‘१ गाएका थिए । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन् ।

विशेष समयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाए । उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे ।