बाढी,पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न एमाले सुदूरपश्चिम संसदीय दलको माग

कैलाली ।एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेशमा विपद्‌बाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् ।उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।

पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको थियो । तीन दिनमा कञ्चनपुर र डडेल्धुरामा गरि पाँच जनाको ज्यान गुमाएका थिए भने दुई जना अझै बेपत्ता छन् ।

‘बाढी र पहिरोबाट भएको भएको क्षतिको यकिन तथ्याङ्क संकलन गरि तत्काल उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग संसदीय दल माग गर्दछ । अझै पनि झरी पर्न सक्ने हुँदा जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्मा सबैले सबैलाई साथ दिएर आफू पनि जोगिन र अरूलाई पनि जोगाउन पनि हार्दिक आह्वान गर्दछौँ । ’ नेता रावल द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।