ठमेल पर्यटन विकास परिषद्को मतदान सकियो,दुई प्यानलका उम्मेदवारबीच चुनावी प्रतिष्पर्धा

सीता पौडेल(अर्चना)

काठमाडौं।नेपाली पर्यटन क्षेत्रको आधार स्तम्भको रुपमा रहेको ठमेलको ‘ठमेल पर्यटन विकास परिषद्’ (टीटीडिसी)को आगामी नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ।

परिषद्को आज सोमबार बिहान ८ बजेदेखि ठमेलको छायाँसेन्टरमा अवस्थित अलफ्ट होटलमा भएको २८ र २९ औँ साधारणसभा एवम् अधिवेशनको बन्दसत्रले निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गर्न बिहान ११ बजेदेखि नै मतदान जारी राखेर अहिले साँझ ५ बजे मतदान प्रकृया सम्पन्न गरेको हो।

भरर्खरै साँझ ५ बजे सम्पन्न भएको निर्वाचनमा १०३१ मत खसेको महासचिव पदका उम्मेदवार बद्री प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।उनका अनुसार अधिवेशनमा ११९३ जना प्रतिनिधिहरु चयन भएका थिए । अबको करिब दुई घण्टापछि अर्थात ७ बजे मतगणना शुरु गर्ने र मदगणना सकिएलगत्तै निर्वाचन परिणाम घोषणा गर्ने तयारी भएको उनको भनाई छ ।

परिषद्को यस निर्वाचनले पदाधिकारी सहित १५ जनाको कार्यसमिति चयन गर्ने छ भने,दुई जना मनोनित गरेर १७ सदस्यीय कार्यसमिति बनाइने उपाध्यक्षका एक उम्मेदवार पुडासैनीले जानकारी दिए।

सो निर्वाचनमा अध्यक्ष पदका लागि परिषद्का निवर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्व–महासचिव धुव्र अधिकारीले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

शर्माको प्यानलबाट उपाध्यक्षमा सहदेव धमला,राजीव पाण्डे र चेतनाथ पुडासैनी चुनावी मैदानमा उत्रिएका छन्।भने,महासचिवमा बद्रीप्रसाद तिमिल्सिना,सचिवमा पुण्यराम लागेजु,कोषाध्यक्षमा प्रकाश थपलिया उम्मेदवार छन्। तर,कोषाध्यक्षका उम्मेदवार थपलिया निर्विरोध भइसकेको उपाध्यक्षका उम्मेदवार चेतनाथ पुडासैनीले जानकारी दिएका छन्।

त्यस्तै सदस्यमा कोपिला सिंखडा,रोशन अधिकारी,कुमार नेपाली,पूर्णप्रसाद चौलागाईं,विनोद श्रेष्ठ,अमृत थोकर, सानुकाजी महर्जन र रमेश विश्वकर्मा उम्मेदवार छन्।

यस्तै अध्यक्षका अर्का प्रत्यासी अधिकारीको प्यानलबाट उपाध्यक्षमा श्रीकृष्ण थपलिया, महासचिवमा सोजेशमान मालाकार र सदस्यहरुमा नविन तामाङ,सुदर्शन खनाल,जनक सिंह तामाङ,बद्री प्रसाद अर्याल र लालबाबु चौधरी उम्मेदवार छन् ।

अधिकारीको प्यानलबाट सचिव र कोषाध्यक्ष पदमा भने कुनै उम्मेदवारी नपरेको सदस्यका उम्मेदवार बद्री प्रसाद अर्यालले जानकारी दिएका छन्। 

खासगरि ठमेलको विकासका लागि उम्मेदवारहरुले उस्ता उस्तै एजेण्डा अघि सारेका छन्।डिजिटल ठमेल निर्माण,विशेष पर्यटकीय क्षेत्र घोषणा,शान्तिसुरक्षा,ट्राफिक व्यवस्थापन,फोहोर व्यवस्थापन,तार तथा सडक बत्ती व्यवस्थापन,विकृतिमुक्त ठमेल,व्यवस्थित ठमेल,घरबेटी–व्यवसायीबीच सुमधुर सम्बन्ध,स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना,स्थानीय सम्पदा संरक्षण र संवर्द्वन लगायत कार्यका लागि आफूले पुनः नेतृत्व गर्न चाहेको अअध्यक्षका एक प्रत्यासी शर्माले बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्यटकको पहिलो गन्तव्यको रुपमा रहेको ठमेलको सामाजिक स्वरुपले नेपालको समग्र पर्यटन क्षेत्रकै चित्र प्रस्तुत गर्ने भएकाले पर्यटनमैत्री वातावरण श्रृजना गर्न,त्यस क्षेत्रमा देखिएका विकृति–विसंगतीको न्युनिकरण गरी सफा,स्वच्छ र समृद्ध ठमेलको परिकल्पना साकार पार्न उमेद्वारी दिएको धेरैजसो उम्मेदवारहरुको भनाई छ ।

त्यस्तै,ट्राफिक र पार्किङको दिर्घकालिन व्यवस्था, पर्यटक सूचना केन्द्र, ध्वनी प्रदुषण नियन्त्रण,ढल निकास र खानेपानी समस्याको दिर्घकालीन समाधान,सल्लाहकार समिति,सडक बालबालिका,मगन्ते र सडक व्यापारीको दिर्घकालिन व्यवस्थापन जस्ता विषयलाई आफ्ना चुनावी एजेण्डा बनाएर उम्मेदवारहरु मैदानमा उत्रिएका छन् ।