सुनको मूल्य तोलाकै डेढ लाख

काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । आज सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार ९साउन १ गते० सुनको मुल्यमा रेकर्ड कायम भएको थियो। सो दिन सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको छ।यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो।