तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी,बागमती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूवानुमान महाशाखा अनुसार राती देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको एक – दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि,स्वास्थ्य,पर्यटन,पर्वतारोहण,सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

भोलि मंगलबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।