कस्तो छ क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था ?

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो ।

अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी ३ वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’ उनी थप भन्छन्, ‘सीटीस्कानबाट हड्डी भाँचिएको देखिएको थियो, त्यसबारे के गर्ने हो भन्ने विषयमा सम्बन्धित डाक्टरसँग समन्वय गर्छौँ ।’

अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको बताएको छ । साथै ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको अस्पतालले जनाएको छ ।

अनुहार तथा नाक र आँखाका चोटहरुको उपचार भइसकेको अस्पतालको जानकारी गराएको छ । 

शाक्यको शरीरमा थप जटिलता पहिचान गर्नका लागि आज एमआरआई गर्ने ती अधिकारीले बताए । शाक्यलाई अस्पतालको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । जसमा पाइलट शाक्य मात्रै बाँच्न सफल हुनुभएको हो ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन्।