
सीता पौडेल(अर्चना)
काठमाडौं ।यहि श्रावण २१ गतेदेखि भदौं २१ गतेसम्म काठमाडौंको वडा नम्बर–१५ स्थित स्वयंभुमा नेवारी समुदायमा प्रख्यात र महत्वपूर्ण ‘गुँला पर्व मेला’ लाग्ने भएको छ ।नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने यो पर्वका अवसरमा एक महिनासम्म लाग्ने सो मेलामा बजाइने ‘धा बाजा’को बालाजुको बाइसधारामा अभ्यास भइरहको छ ।

‘न्यागः मणि फेदी मानन्धर गुथी’का सह–अध्यक्ष एवं बाजा गुरु पुष्पलाल मानन्धरले खासगरी असार र श्रावण महिनालाई अनिकालको महिनामा रुपमा लिइने र यो समयमा हरेक वर्ष स्वयंभुमा ‘गुँला पर्व मेला’ लाग्ने गरेको बताए।
नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म यो पर्व मनाउँछन् ।नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने,राम्रो एवं गुनिलो काम,अरुको उपकार गर्ने कार्यलाई जनाउने सह–अध्यक्ष मानन्धरको भनाई छ ।

उनका अनुसार सो मेला अवधिभर बिहानै नुहाई–धुवाई गरी सफासुग्घर र चोखोनितो भएर धाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध,पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने चलन छ।स्वयंभु परिक्रमा गर्नु भन्दा अगाडि नाटेश्वर मन्दिरलाई पुजा गर्ने चलन छ।

विशेष गरि सो बाजालाई बुद्ध भगवानको बाजाका रुपमा लिइन्छ।त्यसैले पनि यो बाजाको विशेष महत्व छ ।यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिएको छ ।मेलाको १५ दिनको ‘बा पारु’को दिनमा स्वयंभुबाट ललितपुरको बुंमतीमा गई उक्त बाजा बजाएर मन्दिर परिक्रमा गर्ने र दिनभरजसो नै रमाइलो गर्ने चलन रहेको पनि सह–अध्यक्ष मानन्धरले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् ।

उनले भने,‘यहाँ गुथीहरुका मानन्धरहरुले मात्रै बाजागाजासहित मन्दिर परिक्रमा गर्ने र भोज खाएर फर्किने चलन छ ।यसमा मानन्धरहरु मात्रै सहभागि हुन्छन् ।’ ‘एक महिना पुरा भइसकेपछि ‘ग्वरा ताल’मा बाजा बजाई रमाइलो गर्ने र पाहुनाहरुलाई ‘पारु भोज’खाएर÷खुवाएर विदाई गर्ने प्रचलन छ।’उनले भने।
मेलामा बजाइने सो बाजाको मेलालाई लक्षित गरेर बालाजु बाइसधारामा भइरहेको प्रशिक्षणमा ८ वर्षको उमेर समुहदेखि २१ वर्ष सम्मको उमेर समुहका बालबालिकाहरु र युवाहरुले अभ्यास गरिरहका छन्।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । धाः बाजा मात्रै नभएर बाँसुरी बाजा,धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता,गणेश,भीमसेन भैरवल गायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ ।साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदाय समेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गरेको बाजा गुरु मानन्धरको भनाइ छ ।
कस्तो हुन्छ त ‘धा बाजा’ ?
यो बाजा मादल भन्दा केही ठूलो र ‘धिमे बाजा’ भन्दा केही सानो हुन्छ ।यो बाजा विशेष गरि मानन्धर,तुलाधर,शाक्य,महर्जन,गुभाजु लगायतका बौद्धमार्गीहरुले बजाउँदै आएका छन् ।यो बाजामा अन्य जातजातीहरुले भने, चाख लागेर सुन्ने रमाइलो गर्ने गरे तापनि बजाउने अभ्यास भने कमैले गरेको पाइन्छ ।
बाजा सिक्नेहरु पनि यहि समुदायबाट छन् ।प्रायः गरेर गुँथीमा आवद्ध व्यक्तिहरुका परिवारका सदस्यहरु र बालबालिकाहरुलाई नै यो बाजाको नि:शुल्क तालिम दिंदै आएको गुँथीले जनाएको छ।
तर अन्य व्यक्तिहरुले पनि सिक्न चाहेमा भने कुनै रोकतोक नगरिने बाजा गुरु मानन्धरले बताए।यो बाजा सो पर्व बाहेक अन्य विशेष दिन जस्तैः गाइजात्रा,बुद्ध जयन्ती,नयाँ वर्ष लगायतको शुभअवसरमा पनि बजाइने गरिन्छ ।

एउटा बाजाको करिब १० हजार पर्ने र विग्रियो भने मर्मत सम्हारमा बढी खर्च लाग्छ ।यसको खर्चको व्यवस्थापन पनि गुँथी आफैले गर्ने गरेको छ।गुथीमा आवद्ध सदस्यहरुबाट आवश्यक खर्च संकलन गर्ने गुँथीको नियम छ ।
आफ्नै भवन र आयस्रोत नभएका कारण पनि यस गुँथीका सदस्यहरुले नै यस्ता मेला पर्व सञ्चालनका लागि आर्थिक संकलन गर्ने गरेका छन् ।काठमाडौं महानगरपालिकाले पनि बेलाबखत आर्थिक सहयोग गर्ने गरेको छ ।
गुँला पर्वको अन्तिम दिन अर्थात् भाद्र शुक्ल प्रतिपदाका दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एकमहिने व्रत समापन गरिन्छ ।
