
काठमाडौं ।तीजको सन्दर्भमा निकालिएको आफ्नो स्वरको गीतको चर्को आलोचना भएपछि गायिका शान्तिश्री परियारले माफी मागेकी छिन्।
उनले आज बुधबार एक विज्ञप्ति जारी गर्दै गल्ती भएको र अब विचार गरेर मात्रै गीतमा आवाज दिने प्रतिबद्धता जनाएकी छिन्। उनले आवाज दिएको ‘बिस्ताराले पोल्यो’भन्ने गीत विवादमा परेको हो।
‘कहिलेकाहिँ सधैँ हिडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ। त्यहीँबाट लागेको थोरै चोट,जुन चोटले आफूसङ्गै आफ्ना र आफ्ना शुभचिन्तकलाई धेरै दुख्ने रहेछ।त्यसैले अब हिँड्दा अलि ख्याल गरेर हिड्नेछु।’उनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले आफूले गाएको गीतमा दर्शकको मनमा ठेस पुगेको भन्दै गीतको भिडियोको केही दृष्यले दर्शक,स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको उल्लेख गरेकी छिन्।
‘म लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र शुभचिन्तकहरू प्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छुु।’ उनले विज्ञप्तिमा भनेकी छिन्।

