सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेसका सांसदको असन्तुष्टि

काठमाडौं।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्यामलाल ज्ञवालीमाथि छानबिन थालिएको छ ।तर,सो छानविन थालेकोमा नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कांग्रेसका एक साँसद हृदयराम थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताएका छन् ।

सीआइबी प्रमुख ज्ञवालीमाथि छानविन थालिएपछि उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरेका छन् ।

उनले भने– सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे। आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला ।तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन?’उनले प्रश्न गरेका छन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो। कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको विषयमा पनि उजुरी परेको स्रोतले जनाएको छ।

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय,उमेर विवाद,नक्कली सर्टिफिकेट,आफ्ना छोराछोरीलाई विदेशमा राखेको,पदको दुरुपयोग गरेको,बालमन्दिर जग्गा प्रकरण,सेन्च्युरी बैंकको कर्जा हिनामिना प्रकरण लगायतका विषयहरू छन्।यी विषयहरुमा छानविन गर्न समिति समेत गठन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रिपरिषद बैठकले सरूवा गरेको थियो।

बज्राचार्यलाई कार्य विभागमा पठाएर सिआइबीमा एआइजी ज्ञवालीलाई ल्याइएको थियो।

तर ज्ञावली भने,उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।