मनसुन अवधिभर एक करोड वृक्षारोपण गरौं : मन्त्री शाही

२९ साउन,काठमाडौं।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्नु पर्ने आवश्यक्ता औंल्याएका छन् ।

मन्त्री शाहीले मनसुन अवधिभर देशभर करिब एक करोड वृक्षारोपण गर्न निर्देशन समेत दिएका छन् ।उनले भनेका छन– मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय,भू तथा जलाधार संरक्षण कार्यालय,राष्ट्रिय निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षारोपण अभियान सञ्चालन गर्न निर्देशन जारी गरिएको उल्लेख गरेका छन्।

उनले वृक्षारोपण कार्यलाई प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि मन्त्रालय मातहतका सबै निकायलाई अनुरोध गरेका छन् ।

“जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन,सामाजिक,आर्थिक विकास, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ।अतिवृष्टि,अनावृष्टि,बाढीपहिरो,हिमपहिरो, खडेरी जस्ता प्राकृतिक विपत्तिको जोखिममा बढ्न थालेको छ।त्यसैले यसको न्यूनीकरणको लागि बृहत् वृक्षारोपण गरी हरियाली बढाउन जरुरी छ” मन्त्री शाहीले भने।

“प्रत्येक घर, कार्यालय अगाडि कम्तीमा एउटा मात्र रुख रोप्न सके पनि वातावरणीय लाभका साथै हामीलाई धेरै फाइदा हुन्छ ।सडकको दायाँबायाँ किनारमा पनि वृक्षारोपण गर्दा हरियालीले गाउँ सहरको शोभा पनि बढाउँछ”, मन्त्री शाहीद्धारा सोमबार जारी निर्देशनमा उल्लेख छ ।