ढोरपाटनमा सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’

ढोरपाटन । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् ।

केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारहरुलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् । हिजोआज चाडपर्व र मेला महोत्सवमा रेकर्डेड गीत बज्छन् । दोहोरीगीत आयोजना हुने कार्यक्रममा पनि यानीमाया, सुनिमाया भाका समावेश हुँदैन । सामूहिक रुपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले गाउन जान्दैनन् ।

पाका पुस्ताबाट सिक्नसमेत रुचि राख्दैनन् । धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दीलगायतका जिल्लामा यो भाका निकै लोकप्रिय मानिए पनि संरक्षण हुन सकेको छैन । यानीमाया र सुनिमाया गीत आदिवासी जनजाति समुदायमा बढी प्रचलित मानिन्छ । पछिल्लो समय बजारमा आएका आधुनिक, पप, (याप लगायतका गीतले यानीमाया, सुनिमाया ओझेलमा परेको धेरैको बुझाइ छ । यानीमाया गीत एक जनाले उठान गर्ने र समूहका अन्य कलाकारले गाउने गरिन्छ ।

दुई दशक अगाडि मेला महोत्सवमा सबैभन्दा बढी गाइने यानीमाया अहिले गुञ्जिन छोडेको ढोरपाटन नगरपालिका–९ का ७७ वर्षीय गुमानसिंह पुनले बताए । पहिले ठाडोभाका, झ्याउरे र सालैजो भाका बढी प्रचलित रहेको सुनाउँदै अहिले ती भाका कहीँकतै सुन्न नपाइने उनको भनाइ छ ।