
सीता पौडेल(अर्चना)
१६ भदौं,काठमाडौं ।नेकपा (एमाले)की केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यस वर्षको तीजदेखि पानी नखाई (निर्जला)र श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने चलन तोड्नु पर्ने बताएकी छिन् ।
शनिबार नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क समन्वय कमिटिले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको तीज उत्सव–२०८१ कार्यक्रममा बोल्दै उनले यस ब्रतको कुनै अर्थ र औचित्य नरहेको र यसले नारीहरु मात्रै नभएर परिवारको समेत भलो नगर्ने हुँदा यस प्रकारको ब्रत बस्ने चलन तोड्नु पर्ने बताएकी हुन्।
सबै प्रदेशका समन्वय कमिटिहरुलाई समेटेर आयोजना गरिएको सो तीज विषेश कार्यक्रममा पूर्व मुख्यमन्त्री शाक्यले यस प्रकारका ब्रत तोड्ने संकल्प प्रस्ताव समेत गरिन् ।
गीतमै दुईवटा प्रस्ताव प्रस्तुत गर्दै उनले भनिन्, ‘हे.. यसपालीको तीजमा हाम्ले एउटा अठोट गरौं है,पानी नखाई ब्रत बस्ने चलन तोंडौं है।हे..आयू लामो श्रीमानको हैन,परिवारको बनाउँ है,परिवारलाई स्वस्थ र निरोगी बनाउँ है ।’ उनले गीतमै प्रस्ताव राखिन्। ‘मन प¥यो ?।यो गित हैन प्रस्ताव हो ’ उनले भनिन् ।उनले यस प्रस्ताव मन परेमा ताली बजाएर पारित गर्न पनि उपस्थित सबैलाई अनुरोध गरिन्।
उनले भनिन,‘ अब यो हलबाट प्रस्ताव पारित हुन्छ की हुँदैन है त ।मन परे ताली बजाउँ ।’ उनको यो प्रस्तावलाई खचाखच भरिएको हलले तररर ताली पड्काएर पारित समेत ग¥यो ।
प्रस्ताव पारित भएपछि उनले अगाडि भनिन्,‘अब यस वर्षबाट तीजमा तपाइँ हामीले पानी नखाई र श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्न पाइएन।’ ‘यदि श्रीमानको आयु लामो होस् भनेर श्रीमतीले ब्रत बस्ने हो भने श्रीमानहरुले पनि श्रीमतिको आयु लामो होस् भनेर ब्रत बस्न पर्छ । हुन्छ भने सबैले हुन्छ,हुन्न भने कसैले हुन्न ।त्यहाँ हुन्छ समानता ।’ उनले थपिन् ।
हलले ताली पड्काएर प्रस्ताव पारित भएपछि उनले सांस्कृतिक रुपान्तरणमा एक स्टेप अगाडी बढेको पनि जिकिर गरिन् ।
साथै उनले तीजलाई राम्रो लुुगा र गहना लाउने,दर खाने र नाच्ने पर्वका रुपमा मात्रै नलिएर नेपालको मौलिक संस्कृतिको संरक्षण र प्रवद्धनसँगै राष्ट्रिय पर्वको रुपमा सभ्य र सुसंस्कृत तवरले मनाउन सबै नेपाली नारीहरुलाई आग्रह गरिन् ।
उनले पछिल्लो समय बजारमा आएका तीजका कतिपय गीतहरुलाई छाडा गीतसंगीतको संज्ञा दिँदै यस प्रकारका गित संगीत नसुन्न र बजाएर ननाच्न पनि सबैलाई अग्रह गरिन् ।

यस्तै कार्यक्रममा नेकपा एकालेकी केन्द्रिय सचिव पद्यमा अर्यालले महिलाहरुलाई सामाजिक रुपमा शसक्त बताउने तवरबाट समय सापेक्ष रुपमा तीज मनाउनु पर्ने आवश्यकता औंल्याइन् ।
परिवर्तित समयसँगै समाज पनि परिवर्तन भइरहेको भन्दै सचिव अर्यालले नारीहरुलाई अविभावकहरुले दिने आर्शिवाद पनि बदलिएको बताइन्।राम्रो बर र घर मात्रै नभएर देश हाँक्न सक्ने राम्रो र कुशल नेतृत्व बन्न सक्ने अवसरको आश अविभाकहरुको रहको भन्दै उनले पछिल्लो समयमा नारीहरुलाई अविभावकहरुले दिने आर्शिवाद पनि बदलिएको बताइन् ।

पछिल्लो समय छोरीलाई आर्शिवाद दिंदा पहिलाजस्तो राम्रो बर पाएस,राम्रो घर पाएस भन्ने जस्तो नभएर राष्ट्रपति,मन्त्री,प्रधानमन्त्री बनेस् भनेर आशिर्वाद दिन थालेको भन्दै समयको माग अनुसार अगाडि बढ्नु जरुरी भएको बताइन् ।
साथै उनले नेपाली नारीहरुले हाम्रो संस्कार र संस्कृतिमा देखिएका विकृति र विसंगतिलाई तोड्दै शसक्तिकरणको बाटोमा अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याइन् ।
उक्त तीज कार्यक्रममा विभिन्न जिल्लाका सम्पर्क मन्च र विभिन्न प्रदेशका समन्वय कमिटका महिला नेतृहरुले सन्देशमुलक तीज गीत प्रस्तुत गरेका थिए ।

