
७, असोज काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गरेको हो ।
राष्ट्रपति पौडेलले भने, “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाइ, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ ।” उनले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गरे ।
उनले भने, “यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङ्मयप्रेमीहरूले स्रष्टाहरूको सम्मानमा कञ्जुस्याइँ गर्न हुँदैन ।”
राष्ट्रपति पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताए । उनले भने, “यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो ।”
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित मुलुकको वाङ्मयकै विकासका लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उनको भनाइ थियो । राष्ट्रकविको जन्मजिल्ला लमजुङमा उनको प्रतिमा बनाएर राष्ट्रकविको विहङ्गम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भइरहेको प्रयासले छिट्टै सार्थकता पाउने उनले विश्वास व्यक्त गरे ।
