
१७ असोज,काठमाडौं ।पाँच वटा मुख्य राजमार्गमा अझै पनि यातायात सुचारु हुन सकेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार अरनिको राजमार्ग,बिपी राजमार्ग,पुष्पलाल (मध्यपहाडी) राजमार्ग,कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन।जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ।
लार्चामा ह्युमन पाईप,पेनस्टक पाइप र लिपिङ बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिने मन्त्रालयले उल्लेख गरेको छ।
यस्तैगरि पुष्पलाल(मध्यपहाडी) राजमार्गको दोलालघाट राकथुम खण्डमा ८० किलोमिटर सडक मध्ये धेरै ठाउँमा पहिरो गएर सडक समेत वासआउट भएको,दुबै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।सडक सफा गरी वर्दिवासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने मन्त्रालयले जनाएको छ।
त्यस्तै कान्ति राजपथको घपेली बगुवा खण्डमा १३ किलोमिटर र बागमतीसम्म मकवानपुर तथा ललिपतुर दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको र बाममती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारी साधन सुचारु गराइने मन्त्रालयले जनाएको छ ।

