
२२ असोज,काठमाडौं ।बडादशैँ अर्थात् नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ।अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।
पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएनुसारा यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने भएको हो।मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि रहेको र त्यसपछि बल्ल षष्ठी तिथि लागेको छ।
स्कन्दकुमार (कुमार) की माता भएकीले यि भवानीको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ।यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ।कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।
मार्कण्डेय पुराणअन्तर्गतको देवीमाहात्म्यमा नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् भनि उल्लेख गरिएको छ ।
बडादशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौं दिन स्कन्दमाता,छैटौँ दिन कात्यायनी,सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ।
