काठमाडौंवासीले आजदेखि पुन:मेलम्चीको पानी उपभोग गर्न पाउने,मेलम्चीवासीका माग के के ?

२३ असोज,काठमाडौं ।काठमाडौंका बासिन्दाले आजदेखि पुन:मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्।

वर्षायाम शुरु भएसँगै रोकिएको पानी हिजोरातीदेखि पुनः काठमाडौं ल्याउन लागिएको हो।वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण पानी ल्याउन सकिएको थिएन।

मेलम्ची सङ्घर्ष समितिसँग गएराति भएको वार्तामा सहमति भएसँगै पानी आउने भएको हो।खानेपानी मन्त्री प्रदीप यादवका अनुसार हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीको बाढीप्रभावितले राख्दै आएका मागमध्येका केही माग तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा पुरा गर्ने बाचासिहत सहमति भएको बताए।

उनका अनुसार मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडक कालोपत्रेका लागि प्राथमिकतामा राखेर संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ।

बाढीले बगाएका मेलम्चीको पुल,चनौटेको रातोपुल,कात्तिके,घट्टेखोला, हल्दे,तिम्बु, नाकोते,तालामाराङ भट्टार, गोरेखोला र सर्कथलीको पुल निर्माणका लागि पहल गर्ने सहमति भएको छ।

त्यस्तै चिउरीखर्क, ओडारे,तिम्बु,ढोरोसिंह, थापाटार(भाङटार, महांकाल,तारूकेटार,ज्यामिरे,शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल निर्माणका लागि विशेष पहल गरी बजेट व्यवस्था गर्ने सहमति पनि भएको उनको भनाई छ।

२०७८ साउनदेखि मेलम्ची क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा नराखी पानी पथान्तरण गरेको भन्दै बाढी प्रभावित स्थानीय संघर्षमा उत्रिएका थिए।उनीहरूले बाढीबाट ज्यान गुमाएका हेलम्बु भेगका १४ जनलाई जनही १०÷१० लाख रुपैयाँ दिनुपर्ने, बाढीबाट घरबास गुमाएकालाई आवास निर्माणका तत्काल अनुदान दिनुपर्ने लगायत १७ बुँदे माग राखेर आन्दोलन गरेका थिए।